८३ वर्षीय ‘पुतली बाजे भए मानार्थ नेपाली

८३ वर्षीय ‘पुतली बाजे भए मानार्थ नेपाली

Image result for 'पुतली बाजे

पोखरा विन्दवासिनी मन्दिर आडैमा केटाकेटीका माझमा थिए उनी। काँधमा सेतो फित्ते झोला बोकेका। उनीसँग केटाकेटीले केही मागिरहेका थिए।त्यसपछि उनले झोलामा हात हाले र एक मुठो पोस्टकार्ड निकाले।  पोस्टकार्डहरूका लागि केटाकेटीले हानथाप गरे। उनले सबैका हातमा एक-एकवटा थमाइदिए।

केटाकेटीलाई दिइसकेपछि नजिकै भएका अरूलाई पनि पोस्टकार्ड दिए। मेरो हातमा पनि एउटा आइपुग्यो। उनले बाँडेका सबै पोस्टकार्डमा पुतली तस्वीरहरू थिए। पोस्टकार्डको कुनामा लेखिएको थियो, कोलिन स्मिथ। केटाकेटीहरू  उनलाई ‘पुतली बाजे’ भनेर बोलाउँदै थिए।मैले पहिलोपटक  उनलाई केही वर्षअघि भेटेको थिएँ। केटाकेटीले ‘पुतली बाजे’ भनेका उनको पूरा नाम कोलिन फिलिप स्मिथ हो। उनी बेलायतका हुन्। पुतलीकै खोजीमा जिन्दगी बिताएकाले उनलाई सबैले ‘पुतली बाजे’ भनेर चिन्छन्।

भेटको केही वर्षपछि विन्दवासिनी मन्दिरभन्दा केही माथि लामागाउँमा बाँसघारीमुनि एक कोठे घरमा पुग्दा उनी सुतिरहेका थिए। आधा खुलेको ढोका धकेलेर हेर्दा कोठाबाट बिरालो बाहिर आउनु र उनले सिरानीबाट टाउको उठाएर हेर्नु एकैपटक भयो।न बिरालो म्वाउँ गर्‍यो, न उनले केही सोधे।परिचय दिएर ‘एकछिन कुरा गर्न आएको’ भनेपछि भित्र पस्ने अनुमति दिए।

कन्दै उठेका उनी निकै कमजोर देखिन्थे। कट्टु मात्रै लगाएर सुतेका रहेछन्। भित्ताको काँटीमा झुन्ड्याएको निलो सर्ट निकालेर लगाए। भित्ताबाटै ढाका टोपी पनि ताने, चुच्चो पारेर लगाए।सिरानी नजिकैको टेबलमा राखिएको मोटो ढ्याब्रे ल्यापटपमा पुरानो विदेशी गीत बजिरहेको थियो। सेतै फुलेको दाह्री-कपाल र चाउरी परेको अनुहार। ८३ वर्ष भइसकेछन्।

२०२२ सालमा युनाइटेड मिसन टु नेपालको तर्फबाट मिसिनरी शिक्षक भएर उनी पहिलो पटक नेपाल आएका थिए। पोखराकै लामाचौरमा तत्कालीन आदर्श विद्यालयमा पढाउन सुरू गरेका उनी त्यसको दुई वर्षपछि गोरखा पुगे। गणित र विज्ञान पढाउन त्यहाँ गएका उनले  ९ कक्षामा  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वरिष्ठ न्यूरो सर्जन स्व. उपेन्द्र देवकोटालाई सँगै राखेर पढाएको बताए।

त्यहाँ एक वर्ष पढाएर उनी फेरि पोखरा फर्के।गोरखाबाट फर्केपछि उनले पृथ्वी नारायण क्याम्पसमा पढाए। यति बेलासम्म उनमा पुतली मोह बढिसकेको थियो। यो मोह नेपाल आएपछि सुरू भएको होइन। बेलायत हुँदै उनलाई पुतली र तिनका प्रजातिबारे सोख थियो रे।’१४ वर्षको हुँदादेखि नै पुतली जम्मा गर्थेँ,’ उनले सुनाए, ‘तर स्कुल सकिएपछि पुतली खोज पनि सकियो।’

२९ वर्षको हुँदा ५ वर्षको भिसामा शिक्षक भएर उनी नेपाल आएका थिए। आउनुअगाडि उनले गणितमा स्नातकोत्तर पास गरिसकेका थिए। उनको पहिलो ५ वर्ष पढाएरै बित्यो। सन् १९७१ मा बेलायत फर्के। तर, उनलाई बेलायतभन्दा नेपाल प्यारो लाग्यो। बेलायत पुगेको एक वषमै नेपाल फर्के।त्यति बेला भने उनी युनाइटेड मिसन टु नेपालको मिसनमा फर्किएका थिएनन्।’त्यति बेला म एक्लै आफ्नै तरिकाले नेपाल आएको थिएँ,’ उनले भने।त्यसपछि उनलाई कहिल्यै बेलायत फर्किन मन लागेन। हरेक ५ वर्षमा भिसा सकिएपछि बेलायत जान्थे र फेरि भिसा लगाएर नेपाल आउँथे।

स्मिथका अनुसार सन् १९७२ मा दोस्रोपटक नेपाल आएपछि उनी काठमाडौं बसे। आनन्दकुटीमा पढाए। त्यहाँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक त्रैलोक्यमान श्रेष्ठलाई भेटेको अहिले पनि सम्झन्छन्। श्रेष्ठले उनलाई पुतलीबारे अध्ययन गर्न ‘प्रपोजल’ लेख्न सुझाए।’तर मलाई आउँदैन,’ उनले श्रेष्ठलाई भनेछन्। श्रेष्ठले उनलाई सिकाइदिए, ‘प्रपोजल’ पर्‍यो। उनले पढाउन छोडेर पुतलीकै खोजीमा पूरा समय लाग्ने निर्णय गरे।

त्यो प्रोजेक्टबाट उनले त्रिभुवन विश्वविद्यालयका लागि निकै पुतली जम्मा गरेका छन्। ५४ वर्षको नेपाल बसाइमा उनले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, नेस्नल हिस्ट्री म्युजियम र पोखराको माउन्टेन म्युजियममा पनि पुतली संकलन गरेर राखे। विशेषगरी पृथ्वी नारायण क्याम्पसको, अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा उनका धेरै पुतली संग्रह छन्।

बेलाबेलामा भिसा सकिएपछि बेलायत गइरहने उनी २००७ देखि नेपालमै छन्। अन्तिमपटक बेलायत जाँदा उनका दाइ आफ्नो सम्पत्ति बेचेर न्यूजिल्यान्ड सरे रे। बेलायतमा कोही नभएर जान छाडेको उनले बताए।नेपालका कति जिल्ला पुगे, उनलाई सम्झना छैन।

भन्छन्, ‘पुतली खोज्दै ५० बढी जिल्लामा पुगेँ होला।’उनलाई मान्छेहरूले पुतलीबारे धेरै सोधपुछ गरेपछि प्रश्नोत्तर शैलीमा एउटा किताब पनि लेखे- ‘ट्वान्टी मस्ट आक्स्ड कोइसन्ड फर बटरफ्लाइ’।पुतलीका प्रजाति मात्र होइन, तिनको बासस्थान र आहारा विषयमा पनि उनले खोजी गरेका छन्। ८ सयभन्दा बढी पुतली अनुसन्धान गरिसकेको बताउँछन्। पुतलीबारे नै लेखिएका १० किताब र ५ वटा बुकलेट पनि उनका नाममा प्रकाशित छन्।

उनले अंग्रेजीमा आत्मकथा पनि लेखेका छन् रे। उनका अनुसार यसमा पुतली खोज्दाका किस्सादेखि नेपाल बसाइका अनुभव समेटिएका छन्। पान्डुलिपि तयार भए पनि छपाउने मन छैन। ‘कसले पढ्ला र’ भन्ने उनलाई लागेको छ। यसअघि प्रकाशित आफ्ना किताबको कारोबार धेरै नभएको उनलाई थाहा छ।अहिले त बुढेसकाल लागिसक्यो। अंग्रेजी लवज भए पनि प्रस्ट नेपाली बोल्ने स्मिथको बोली लरबराउन थालेको छ। कति बुझिँदैन पनि। सामान्य हिँडडुल गर्न पनि गाह्रो छ। त्यसैले भिसा थप्न काठमाडौं जान नसकेको गुनासो उनले गरेका थिए।

भने, ‘नेपाली नागरिकता पाए त भिसा थप्न हिँडिरहनै पर्थेन।’उनले पहिलोपटक सन् १९९४ मा पोखराबाटै नेपाली नागरिकताको आवेदन दिएका थिए। उनलाई त्यति बेला बेलायतको पासपोर्ट फिर्ता गर्न भनिएछ। बेलायत राजदूतावास पुगेर पासर्पाेट बुझाएछन् पनि। तर, नेपाली नागरिकता हात नलागेको उनले सुनाए।

‘नेपाली नागरिकता लिन धेरै संघर्ष गरेँ। सरकारी कर्मचारीले नागरिकता दिन्छु भन्दै घुस पनि मागे,’ स्मिथले दाबी गरेका थिए।गत साता मात्र उनका लागि खुसीको खबर नेपाल सरकारले दिएको छ। आफ्नो देश छाडेर नेपाललाई अपनाएका कोलिन स्मिथ उर्फ ‘पुतली बाजे’लाई सरकारले मानार्थ नेपाली नागरिकता दिने निर्णय गरेको छ।सेतो पाटि बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *